ढुक्क भएर सुदूरपश्चिममा लगानी लगाउनुहोस्, वातावरण हामी बनाउँछौँ : सुदूरपश्चिमका मुख्यमन्त्री
मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलन
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा लगानी गर्न सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा प्रशस्त लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न लगानीकर्ताहरूलाई अपिल गरेका हुन् ।
आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत मुख्यमन्त्रीले नीतिगत समस्या हल गर्दै लगानीमैत्री वातावरण बनिरहेको समेत स्पष्ट पारेका थिए ।
‘सुदूरपश्चिम प्रदेशमा पर्याप्त लगानीको सम्भावना छ । नीतिगत कुनै समस्या हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘तपाईँहरू निर्धक्क भएर सुदूरपश्चिममा लगानी गर्नुहोस्, हामी साथ दिन्छौँ ।’
भौतिक पूर्वाधारको अभावका कारण सुदूरपश्चिम प्रदेशमा लगानी नआइरहेको गुनासोबारे मुख्यमन्त्रीले लगानीको सुनिश्चितता भए सडक र विद्युत्को व्यवस्था सुदूरपश्चिम प्रदेश सरकारले गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
‘विभिन्न समस्या छन् भनेर लगानी गर्न डराउनु पर्दैन । हामी सडक र विद्युत्को व्यवस्था गरिदिन्छौँ, तपाईँहरू लगानी गर्नुहोस्,’ मुख्यमन्त्रीले भने ।
सुदूरपश्चिममा खनिज, जडीबुटी, पर्यटन, पशुपालन, उद्योग लगायत थुप्रै सम्भावना रहेको पनि उनले बताए । उनले ती सबै क्षेत्रमा लगानीका लागि लगानीमैत्री वातावरण र सुरक्षाको प्रतिबद्धता प्रदेश सरकारले गर्ने बताए ।
सुदूरपश्चिम प्रदेशको दीर्घकालीन समृद्धि र समग्र विकास प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको समेत मुख्यमन्त्रीको भनाइ थियो । उनले तीनै तहका सरकारबाट साथ पाइरहेको उल्लेख गर्दै लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको मुहार फेर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बनिरहेको बताएका थिए । पछिल्लो समय संघीय सरकार पनि लगानीमैत्री बन्दै गएको भन्दै उनले निर्धक्क भएर लगानी गर्न सबै लगानीकर्ताहरूलाई आग्रह गरे ।