एभरेष्ट कलरको आईपीओ आजदेखि खुल्यो, १० हजार कित्तासम्म आवेदन दिन पाईने

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज (जेठ २२ गते) देखि प्राथमिक सेयर अर्थात प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री खुला गरेको हो ।

कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले जेठ २७ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्म पूर्ण आवेदन नपरेमा भने निष्काशन अवधि असार ५ गतेसम्म लम्बिनेछ।

यसअघि कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेय वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता सेयर कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य र मेरो सेयर अनलाईन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।