बजेटले छोएन सेयर बजारलाई, उल्टै सातामा घट्यो नेप्से १ प्रतिशत
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम कर घोषणा गर्दै सेयर बजार सुधारका विभिन्न कार्यक्रम ल्याएपनि पुँजीगत लाभकर ५० प्रतिशतसम्मले बढाएपछि लगानीकर्ता निरास देखिएका हुन् ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटलाई निकै उत्साहका साथ हेरेका लगानीकर्ताहरु निरास भएका छन् । त्यसैको परिणाम एक सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा गिरावट आएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम कर घोषणा गर्दै सेयर बजार सुधारका विभिन्न कार्यक्रम ल्याएपनि पुँजीगत लाभकर ५० प्रतिशतसम्मले बढाएपछि लगानीकर्ता निरास देखिएका हुन् । एक वर्ष अवधिमा लाग्दै आएको लाभकरलाई अर्थमन्त्री वाग्लेले ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत र एक वर्ष पछिको कारोबारमा लाग्दै आएको लाभकर साढे ७ प्रतिशतलाई बढाएर १० प्रतिशत बनाएका थिए ।
बजेटअघि गत साता २७८२.१० विन्दुमा बन्द भएको नेप्से सूचक हिजो शुक्रबारसम्म ०.९६ प्रतिशत अर्थात २६.६९ अंक घटेर २७५५.४१ विन्दुमा रोकिएको छ । पाँर्च दिन कारोबार भएको यो साता बजार खुलेको पहिलो दिन नै घटेको थियो । त्यसपछि दुई कारोबार दिन बढेको नेप्से त्यसपछिका दुई दिन फेरी घटेर बन्द भएको थियो ।
यो साता सेन्सेटिभ इण्डेक्स ३.५२ अंक घट्दा फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंक घटेको छ । यो साता नेप्सेसँगै कारोबार रकम पनि ४.१७ प्रतिशतले घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा बर्गिकउत १३ उपसमूहमध्ये यो साता ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको सूचक घटेको छ । यो साता वित्त उपसमूहको सूचक सर्वाधिक ६.९१ प्रतिशत बढेको छ । अंकका आधारमा भने यो साता निर्जीवन बीमा उपसमूह सूचक सर्वाधिक ५११.३८ अंक बढेको छ । त्यस्तै, कारोबारमा आएको व्यापार उपसमूह सूचक यो साता सर्वाधिक ६.९८ प्रतिशत घटेको छ । अंकका आधारमा यो साता उत्पादन तथा प्रशोधन उपसमूह सूचक सर्वाधिक ३०८.१७ अंक घटेको छ ।
यो साता कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १०१.०६ प्रतिशत बढेको छ। गत साता ३७६.८० रुपैयाँमा अन्तिम कारोबार भएको कालिञ्चोकको सेयर शुक्रबार ७५७.६० रुपैयाँमा रोिएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमूल्य करिब २५ प्रतिशत बढे्दा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य साढे १७ प्रतिशत बढेको छ । यो साता बुंगल हाइड्रोको सेयरमूल्य सर्वाधिक १६.७५ प्रतिशत घटेको छ ।