शेखरको सम्पत्ति शुद्धीकरणमा बयानः साढे ५२ करोड सेयर लगानीका लागि दिएको हुँ, दीपक भट्टसँग सम्बन्ध छैन

काठमाडौं । नेपाल उद्योग वार्णिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगि शेखर गोल्छाले आफूले भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) लाई दिएको ५२ करोड ५० लाख रुपैयाँ दोस्रो बजारमा सेयर लगानीका लागि उपलब्ध गराएको भए पनि उक्त रकम दीपक भट्टको नाममा सेयर खरिद गर्न प्रयोग भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिएको बयानमा गोल्छाले आफूले रोहित गुप्ता, राजबहादुर शाह, शुलभ अग्रवाल र अमित मोरसँगको सल्लाहमा सेयर खरिदका लागि रकम उपलब्ध गराएको तर उक्त रकम कसरी प्रयोग गरियो भन्ने जानकारी नभएको उल्लेख गरेका छन् ।

उनका अनुसार बजार अवस्था अनुकूल नभएकाले आफूले अहिलेसम्म सेयर खरिद नगरेको र ब्रोकर कम्पनीले करिब १० दिनअघि एक महिनाभित्र रकम फिर्ता गर्ने मौखिक आश्वासन दिएको छ ।

गोल्छाले दीपक भट्टसँग तीन–चार पटक भेटघाट भए पनि कुनै प्रत्यक्ष व्यावसायिक सम्बन्ध नरहेको र कुनै कम्पनीमा संयुक्त लगानीसमेत नभएको दाबी गरेका छन्। उनले भृकुटी स्टक ब्रोकिङका अध्यक्ष सन्दिप चाचन अग्रवाललाई समेत व्यक्तिगत रूपमा नचिन्ने बताएका छन्।

बयानमा उनले आफूसँग उक्त ब्रोकर कम्पनीको डिम्याट खाता समेत नरहेको र शेयर लगानीबाहेक अन्य कुनै कारोवार वा सम्बन्ध नरहेको बताएका छन् । आफूले व्यवसायबाट आर्जन गरेको वैधानिक रकम शेयरमा लगानी गर्नका लागि ब्रोकर कम्पनीलाई दिएको भए पनि कम्पनीले खातामा रहेको रकम अन्य भुक्तानी सेटलमेन्टमा प्रयोग गरेको हुन सक्ने अनुमान उनले गरेका छन् ।

गोल्छाले दीपक भट्टको निजी लाभका लागि वा सम्पत्ति शुद्धीकरणमा सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध नगराएको स्पष्ट पारेका छन् । नेपाल रिइन्सुरेन्सको प्रमुख सेयर हात पार्ने वा बीमा क्षेत्रमा प्रभाव विस्तार गर्ने योजनाअनुसार रकम जम्मा गरेको आरोप पनि उनले अस्वीकार गरेका छन् ।

बयानमा उनले आफूले रकम उपलब्ध गराउँदा नेपाल रिइन्सुरेन्सको शेयर खरिद गर्ने उद्देश्य नरहेको उल्लेख गरेका छन् । साथै, आफू करिब १० दिनअघि मात्रै हिमालयन रिइन्सुरेन्स कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएर अलग भइसकेको बताएका छन् ।

गोल्छाले ब्रोकर नम्बर ५५ मार्फत हिमालयन रिइन्स्योरेन्सको रकम प्रयोग गरी दीपक भट्टको नाममा ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद गरिएको विषय बयानका क्रममा मात्रै थाहा पाएको दाबी गरेका छन् । हिमालयन रिइन्सुरेन्सको अध्यक्ष रहँदा कम्पनीको रकम प्रयोग गरी कुनै व्यक्तिको नाममा शेयर खरिद गर्ने निर्णय नभएको र त्यस्तो कुनै निर्णयमा आफू संलग्न नरहेको उनको भनाइ छ ।

उनले सार्वजनिक कम्पनीको रकम प्रयोग गरी व्यक्तिगत नाममा शेयर खरिद गर्ने निर्णय कानुनविपरीत हुने भन्दै त्यस्तो कुनै निर्णय बोर्डबाट नभएको जिकिर गरेका छन्। उक्त रकम सम्बन्धी कुनै खर्च विवरण वा वित्तीय विवरणमा आफ्नो हस्ताक्षरसमेत नरहेको उनले बताएका छन् । गोल्छाले ब्रोकर कम्पनीको बैंक खातामार्फत हिमालयन रिइन्सुरेन्सको रकम शुलभ अग्रवालकी पत्नी शुभी अग्रवालका विभिन्न खातामा करिब ४५ करोड रुपैयाँ तथा ऋषिराज मोरको खातामा ३१ करोड १९ लाख रुपैयाँभन्दा बढी रकमान्तर भएको भनिएको विषयमा समेत आफूलाई जानकारी नभएको बताएका छन् ।

रकमको सम्पूर्ण कारोवार आफ्नो जानकारी, सहमति, स्वीकृति र निर्णयबाहिर भएको दाबी गर्दै उनले त्यसका लागि आफू नैतिक वा कानुनी रूपमा जिम्मेवार नहुने बताएका छन् । साथै, दीपक भट्ट, शुलभ अग्रवाल तथा अन्य व्यक्तिहरूसँग मिलेमतो गरी हिमालयन रिइन्सुरेन्सको रकम दुरुपयोग, बीमा ऐनको दफा १४० विपरीत कार्य वा सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोप पनि उनले अस्वीकार गरेका छन्।

गोल्छाले आफूले केवल शेयर खरिदका लागि रकम उपलब्ध गराएको र हिमालयन रिइन्सुरेन्सको रकम अपचलन गरी व्यक्तिगत शेयर खरिद गर्ने गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।


यस्तो छ उनको बयानः


उक्त रकम मैले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई विभिन्न मितिमा दिएको ठीक हो। उक्त रकम दीपक भट्टका नाउँमा शेयर खरिद भएको विषयमा मलाई थाहा जानकारी छैन। मैले उक्त ब्रोकिङ कम्पनीलाई दीपक भट्टको नाउँमा शेयर खरिद गर्न रकम प्रयोग गर्नु पनि भनेको छैन। निज ब्रोकिङ कम्पनीले के कति कारणले रकम प्रयोग गरेको हो भन्ने बारेमा मलाई थाहा छैन। रोहित गुप्ता, राजबहादुर शाह, शुलभ अग्रवाल र अमित मोर समेतका साथीहरूसँग सल्लाह गरी दोस्रो बजारमा शेयर खरिद गर्नका लागि भनी उक्त रकम जम्मा गर्ने सल्लाह भए बमोजिम मैले रकम दिएको हो। दीपक भट्टलाई रकम दिएको होइन। शेयर अहिलेसम्म पनि बजार अनुकूल नभएको र लगानी जोखिममा पर्न सक्ने तथ्यलाई आँकलन गरेर नै शेयर खरिद नगरिएको हो। मैले हालसम्म पनि उपयुक्त बजार नभएकोले शेयरमा लगानी गर्न सकेको छैन। मलाई मौखिक रूपमा एक महिनाभित्र रकम फिर्ता गर्छु भनी उक्त ब्रोकर कम्पनीले मलाई करिब १० दिन जति पहिला मौखिक रूपमा जानकारी गराएको छ। शुलभ अग्रवालसँग केही कम्पनीमा संयुक्त लगानी रहेको छ। तर दीपक भट्टसँग ३ वा ४ पटक भेटघाट भएपनि सिधै कुनै प्रत्यक्ष व्यवसायिक सम्बन्ध छैन। निजसँग संयुक्त रुपमा मेरो जानकारीमा रहेसम्म कुनै प्रा।लि।मा लगानी छैन।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि दलाल नं. ५५ एवं सोही प्रा।लि। का अध्यक्ष समेत रहेका सन्दिप चाचन अग्रवाललाई म व्यक्तिगत रुपमा चिन्दिनँ। उक्त कम्पनीलाई मैले रु ५२ करोड ५० लाख रुपैया दिएकोमा सो रकम फिर्ता लिन बाँकी छ। उक्त रकम मैले रोहित गुप्ता, राजबहादुर शाह, शुलभ अग्रवाल र अमित मोर समेतका साथीहरूसँग सल्लाह गरी निजहरूको विश्वासमा दिएको हुँ। जबकि उक्त ब्रोकिङ कम्पनीमा मेरो डिम्याट खाता पनि छैन। यस बाहेक अन्य कुनै पनि कारोवार एवं लेनदेन र नाता सम्बन्ध आदि छैन। मैले मेरो व्यवसायबाट आर्जन गरेको वैधानिक रकम शेयरमा लगानी गर्नका लागि उक्त ब्रोकिङ कम्पनीलाई दिएको रकम हो। उक्त कम्पनीले खातामा रहेको मौज्दात रकम कसैको भुक्तानी सेटलमेन्टमा प्रयोग गरेको हुन सक्छ तर मैले दिपकका नाउँमा शेयर खरिद गर्न वा कुनै कसूरजन्य कार्यका लागि सहजीकरण गर्न उक्त रकम प्रयोग गर्न दिएको होइन।

मैले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा।लि। दलाल नं। ५५ लाई दिएको रकम प्रयोग गरी दीपक भट्टको नाममा शेयर खरिद भएको विषयमा मलाई जानकारी छैन। मैले निज दीपक भट्टको निजी लाभ र सम्पत्ति शुद्धीकरण गर्न सहयोग गर्ने उद्देश्यले निज दीपक भट्टका नाउँमा दोस्रो बजारमा शेयर खरिद गर्दा रु। ५२ करोड ५० लाख बराबर उक्त ५५ नम्बरको ब्रोकरलाई दिएको होइन। माथि मैले व्यहोरा खुलाएको छु(खातामा रकम रहेकाले उक्त कम्पनीले भुक्तानी मिलान गरेको हुन सक्ला तर उक्त रकम एक महिनामा फिर्ता गर्छु भनी करिब १० दिन अगाडि मलाई मौखिक आश्वासन भने दिएको छ। नेपाल रिइन्सुरेन्सको प्रमुख कित्ता शेयर हात पार्ने र बीमा व्यवसायको क्षेत्रमा समेत आफ्नो पकड राख्ने तयारी सहितको योजना बनाई सोही योजना अनुसार मैले उक्त ब्रोकिङ कम्पनीमा रकम जम्मा गरेको होइन।

र मैले उक्त ब्रोकिङ कम्पनीलाई रकम उपलब्ध गराउँदा नेपाल रिइन्सुरेन्सको शेयर खरिद गर्ने भनी रकम दिएको पनि होइन। हाल मैले हिमालयन रिइन्सुरेन्स कम्पनी लिमिटेड लि। को संचालक समितिको अध्यक्षबाट करिव १० दिन जति पहिला राजिनामा दिई जिम्मेवारीबाट अलग भएको छु। ब्रोकर नं। ५५ लाई उपलब्ध गराएको रकम रु। ३,८१,४६,०४,२३०।१७ बाट दीपक भट्टको व्यक्तिगत नाममा शेयर खरिद गरिएको विषयमा मलाई थाहा जानकारी थिएन। यसरी हिमालयनको रकम प्रयोग गरी दीपक भट्टका नाउँमा शेयर खरिद गर्ने विषयको निर्णय म उक्त कम्पनीको अध्यक्ष हुँदा कुनै निर्णय समेत भएको छैन। यसरी पब्लिक लिमिटेड कम्पनीको रकम प्रयोग गरी व्यक्तिका नाउँमा शेयर खरिद गर्ने विवादित एवं कानुन प्रतिकुल हुने निर्णय भएको छैन।

यसरी रकम दिने कार्यमा मेरो कहि कतै सहिछाप एवं दस्तखत पनि छैन। म अध्यक्ष रहेको बेलामा हिमालयन रिले रकम उपलब्ध गराई दीपक भट्टका नाउँमा शेयर गर्ने कुनै निर्णय भएको छैन र यो खर्चको विवरण समावेश भएको कुनै वित्तीय विवरणमा मैले दस्तखत पनि गरेको छैन। को कस्को लापरबाही र बदनियतले यसरी रकम दुरुपयोग भएको हो भन्ने तर्फ छानविन हुनु पर्ने देखिन्छ। हिमालयन रिइन्सुरेन्स लि ब्रोकर नं। ५५ को खाता प्रयोग गरी रिइन्सुरेन्सको रकम प्रयोग गरी दीपक भट्टले रु। ३ अर्ब ८१ करोड बढी रकमको शेयर खरिद गरी विक्रिको लागि प्रयोग गरेको विषय अहिले मलाई यस बयानका क्रममा जानकारी भयो। यस बारेमा मैले माथि पनि खुलाएको छु। सो ब्रोकर कम्पनीको बैंक खाता प्रयोग गरी रिईन्सुरेन्सको रकम शुलभ अग्रवालको श्रीमती शुभी अग्रवालको विभिन्न खातामा रु। ४५ करोड, ऋषि राज मोरको खातामा रु। ३१ करोड १९ लाख, बढी रकम रकमान्तर गरी प्रयोग गरेको भन्ने बारेमा मलाई थाहा छैन।

यसरी रकमको कारोवारको विषय मेरो जानकारी, सहमति, स्वीकृती र निर्णय वाहिरको विषय भएकोले यसमा म नैतिक र कानुनी रुपले जिम्मेवार हुनु पर्ने होइन। म समेतले दीपक भट्ट र शुलभ अग्रवालको मिलेमतोमा रोहित गुप्ता, अमित मोर, राजिव मोर, शाहिल अग्रवाल, शुभेच्छा खरेल र सुभास झुनझुनवाला लगायतका हिमालयन रिइन्सुरेन्सको बोर्डका पदाधिकारी र आधारभूत शेयरधनीहरूको संगठित योजनामा हिमालयन रिइन्सुरेन्सको रकम ब्रोकरको खातामा ल्याई व्यक्तिगत लाभ प्राप्त गर्ने मनसायका साथ रकम दुरुपयोग गरी बिमा व्यवसायलाई नै जालझेलमा पारी बीमा ऐनको दफा १४० समेतको बर्खिलाप हुने गरी दीपक भट्ट, शुलभ अग्रवाल लगायतलाई सम्पत्ति शुद्धीकरण गर्ने गराउने कार्यमा सहयोग र सहजीकरण गर्ने योजना सहित मैले सहयोग गरेको छैन। केवल शेयर खरिद गर्न ५५ नम्बरलाई रकम दिएको हुँ। हिमालयन रिइन्सुरेन्सबाट रकम अपचलन गरी व्यक्तिगत शेयर खरीद गर्ने कार्यमा म संलग्न छैन। बिमा ऐनको दफा १४० को बर्खिलाप गर्ने कार्यमा म संलग्न छैन ।