तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

आज ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । लगातार तिन दिनको गिरावट पछि आज भने नेप्से बढेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६२ अंक बढेर २६२८.६७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक बढेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब १५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

बोटलर्स नेपालको सेयरमूल्य आज सर्वाधिक ६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको एभरेष्ट कलर लिमिटेडको सेयरमूल्य आज सर्वाधिक ५.४५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ मंसिर ११ गते बुकक्लोज गर्दैछ । त्यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको ।

१३ उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएका बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूहले बजार बढाएका हुन् ।

बिहिबार कारोबारमा आएकामध्ये १३८ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।