सानिगाड हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
कम्पनीले जेठ १८ गते सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको सार्वजनिक प्रारम्भिक प्रस्ताव (आईपीओ)मा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयपश्चाय सानिगाडको आईपीओमा आवेदन दिन पाईने छैन ।
कम्पनीले जेठ १८ गते सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ छ । यसमध्ये ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता सेयर बझाङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि विक्री गरिसकिएको छ । सर्वसाधारणका लागि छुट्याइएको २० प्रतिशत अर्थात् ५७ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, कुल निष्कासनको ३ प्रतिशत अर्थात् १ लाख ७१ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार किक्ता सामूहिक लगानी कोषका लागि वित्री गरिएको छ । बाँकी ४६ लाख ७४ हजार कित्ता सेयरका लागि आज कार्यालय समयसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सानिगाडको निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
सन् २००७ डिसेम्बरमा स्थापित सानिगाड हाइड्रोले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगा गाड जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।