दिल्लीको राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री शाहले लेखे भावपूर्ण श्रद्धाञ्जली
पुष्पहार अर्पणपछि त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले गान्धीको आदर्श, सत्य, करुणा र नेपाल–भारतबीचको शाश्वत मित्रताबारे भावपूर्ण सन्देश लेखेका छन् ।
काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबार बिहान नयाँ दिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । पुष्पहार अर्पणपछि त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उनले गान्धीको आदर्श, सत्य, करुणा र नेपाल–भारतबीचको शाश्वत मित्रताबारे भावपूर्ण सन्देश लेखेका छन् । आगन्तुक पुस्तिकामा अंग्रेजी भाषामा हस्तलिखित सन्देशमार्फत प्रधानमन्त्री शाहले भगवान् बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको विरासतबीचको मानवीय तथा आध्यात्मिक आदर्शलाई स्मरण गरेका छन् ।
साथै, उनले नेपाल र भारतबीचको सम्बन्ध भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले पुस्तिकामा लेखेको सन्देशको नेपाली भावानुवाद
यस पवित्र स्थानमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वलाई सत्यमा अन्य कुनै पनि शक्तिले तुलना गर्न नसक्ने सामर्थ्य हुन्छ भन्ने प्रमाणित गरिदियो ।
नेपालका जनता र सरकारका तर्फबाट म मेरो गहिरो श्रद्धासुमन अर्पण गर्दछु । भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको हुँदा म गान्धीजीको विरासतमा त्यही अमर प्रकाश देख्दछु— त्यो गहन सत्य कि करुणा नै सर्वोच्च शक्ति हो र साँचो नेतृत्व हामीमध्येका सबैभन्दा विनम्र व्यक्तिको निःस्वार्थ सेवामा निहित हुन्छ ।
नेपाल र भारत साझा भूगोलले मात्र होइन, बरु आस्था, आत्मीयता र अटुट मित्रताको शाश्वत विरासतले बाँधिएका छन् । गान्धीजीको कालातीत आत्मालाई सम्मान गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई अझ पोषित र सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दछु ।
शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई गान्धीजीका आदर्शहरूले निरन्तर उज्यालो बनाइरहून् ।
वालेन्द्र शाह
नेपालका प्रधानमन्त्री