८ अर्बमाथिको कारोबार हुँदा ३७ अंकले घट्यो नेप्से, बिकास हाइड्रोमा सातौं दिन सर्किट

काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पुनः घटेको छ । बुधबार ५२ अंकले बढेको बजार सूचक साताको अन्तिम दिन बिहीबार भने ३८.१ अंकले घटेर २७८१ अंकमा झरेको छ ।

 निरन्तर घटेको बजार गत आइतबार २७३९.९५ झरेको थियो । तर, सोमबारदेखी बढेको बजार बिहीबार फेरी घटेको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स ५.७४ अंक, फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अंकले घटेको छ ।

नेप्से घटेपनि बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर सेयर किनबेचमार्फत ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ । 

बिहीबार २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ सय २७ कम्पनीको मूल्य घटेको छ । विकास हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । लगातार सातौं दिन सकारात्मक सर्किट लागेको विकास हाइड्रोपावरको बिहीबारको सेयर मूल्य प्रतिकित्ता ५ सय ६८ रुपैयाँ ९० पैसा छ ।

नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको बिहीबार ६५ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल रिलाई पछ्याएको हिमालयन रि इन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्सेमा बर्गिकृत १३ समूहमध्ये बिहीबार म्युचुअल फण्ड र निर्जीवन बीमा समूह सूचक सामान्य बढ्दा अन्य समूह सूचकहरु घटेका छन् । यस दिन विकास बैंक समूह सूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ ।