नेप्सेमा ७.३८ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
आज बजारमा ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१ अंकमा झरेको हो । अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.६२ अंकले बढेको थियो । आज बजारमा ८९ कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ समूहबाहेक सबै समूहका सूचक राताम्य भएका छन् । बैंकिङ समूह ०.४० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ र व्यापार समूह ०.५२ प्रतिशतले ओरालो लागेका छन् ।
कम्पनीगत रूपमा दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ५.४१ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ र एभरेस्ट कलरको २.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ । यता पाल्पा सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेको छ । स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१ र त्रिशूली जलविद्युत्को ३.२४ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहेको छ । त्यसपछि लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, श्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।